स्याङ्बोचेमा टिपर दुर्घटनामा मृत्यु भएका २० जनाको शव पोखरा पठाइयो

२३ असार ०७५, काठमाडौं । शुक्रबार मुस्ताङमा भएको टिपर दुर्घटनामा मृत्यु भएका २० जनाको शव पोखरा पठाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो ।

दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार रात परेपछि १५ शव घटनास्थलमा नै छाड्नुपरेको प्रजिअ पौडेलले बताए ।

मृत्यु भएका र घाइते भएका सबै कोही पनि मुस्ताङका नभएका कारण जिल्ला सुरक्षा समिति मुस्ताङले सबै घाइते र शव पोखरा लाने निर्णय गरेको थियो ।

दुर्घटनामा परी १२ जना घाइते मध्ये सात जनालाई शुक्रबार साँझ नै सेनाको एमआई सेभेन्टिन र एयर डाइनास्टिकको विमानबाट उपचारका लागि पोखरा लगिएको र बाँकी ५ जनाको जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भइरहेको छ ।

बेनी–जोमसोम– कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३ स्थित स्याङ्बोचेमा कालीगण्डकी करिडोर निर्माणमा काम गरिरहेका कामदार बोकेको बा२क २२१९ नंको टिपर शुक्रबार अपराह्न २ बजे दुर्घटना भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत