आज साउने–सङ्क्रान्ति पर्व मनाइँदै

१ साउन ०७५, काठमाडौं । आज साउन १ गते ‘साउने–सङ्क्रान्ति’ पर्व मनाइँदै छ ।

ज्यो.पं. सुरेश चन्द्र रिजालका अनुसार हिन्दूहरुले नेपालभर कर्कट सङ्क्रान्ति अर्थात् साउने सङ्क्रान्ति पर्व स्नान, दान, तपस्या, होम, श्राद्ध आदि विशेष कार्यको प्रारम्भ गरेर मनाउँदै छन् ।

यसै दिनदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने विश्वास समेत गरिन्छ ।

हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताको रात्रीकाल र पितृहरूको दिवाकाल अर्थात् दिउँसो भएकाले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन रहिआएको छ ।

साउने सङ्क्रान्ति मध्य वर्षायाममा पर्दछ र यस मौसममा वर्षा र हिलोका कारण लाग्ने विभिन्न चर्मरोगबाट जोगिने उद्देश्यले मानिसहरू लुतो फाल्ने पर्व यसै दिन मनाउने गर्दछन् ।

यस दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चढाई काण्डारक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ ।

आज कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी र गलेनीजस्ता औषधिका रुपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ–आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ । लुतो फाल्दा घरभित्र दूषित किटाणु प्रवेश नगरून् भन्ने उद्देश्यले नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्टा बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोकासमेत बन्द गर्ने गरिन्छ ।

साउने सङ्क्रान्तिका दिन किसानहरु रोपाईं लगायत कृषिसम्बद्ध बोझिलो र भारी काम सकेर मीठोमसिनो र भोज पनि खाने गर्छन् ।

हिन्दु महिलाहरु आजैदेखि साउन महिनाभरि सौभाग्यको प्रतीक हरियो चुरा, हरियो पोते र नयाँ बस्त्र पहिरने र यस महिनामा पर्ने प्रत्येक सोमबार व्रत बसी भगवान शिवको पूजा आराधना गर्दछन् ।

साउन महिनालाई भगवान् शिवको प्रिय महिनाका रूपमा लिइन्छ । पुत्र नभएकालाई पुत्र प्राप्ति हुने, निर्धनलाई धन प्राप्ति हुने र अविद्यालाई विद्या प्राप्त हुने विश्वासअनुरूप शिवभक्तहरूले यस महिनामा पर्ने सोमबारका दिन व्रत गरी शिवको पूजा आराधना गर्ने मान्यता छ ।

श्रावण महिनाभरि हातमा मेहन्दी लगाउने चलन पनि छ । त्यस्तै भगवान् शिवको पीठ, देवालय, शिवालय आदिमा साउन महिनाको प्रत्येक सोमबारका दिन पवित्र जलाशय, नदी वा पोखरीबाट जल ल्याई अभिषेक गर्ने परम्परा पनि रहिआएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत