अख्तियार भन्छ, सेवाग्राहीसँग घुस : कर्मचारी भन्छ, ऋण रकम फिर्ता लिएँ

४ साउन ०७५, राजविराज । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिएको ७० हजार नगदसहित पक्राउ परेका छन् ।

गाउँपालिकाको राजविराज ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

टोलीका प्रमुख शाखा अधिकृत उमेश अधिकारीले मण्डलको साथबाट घुस वापत लिएको नगद ७० हजार बरामद भएको जानकारी दिए ।

गाउँपालिका वडा नं. ३ सकरपुरामा उपभोक्ता समिति मार्फत् सडक ग्राभेलको काम सम्पन्न भएपछि अन्तिम भुक्तानी दिने बेला मण्डलले उपभोक्ता समितिका पदाधिकारीबाट कमिसन बापत उक्त रकम लिएको अख्तियारका अधिकृत अधिकारीले बताए ।

यता पक्राउ परेका मण्डलले अख्तियारको आरोपको खण्डन गर्दै निर्माण कार्य गर्दै गरेका बेला ऋण दिएको रकम फिर्ता लिएको बताएका छन् ।

सकरपुराका केशरी सिंहलाई आफूले ऋण दिएको र सोही रकम फिर्ता लिएको उनले दाबी गरेका छन् ।

अख्तियारको टोलीले शुक्रबारै मण्डललाई आवश्यक मुचुल्का तयार गरी अनुसन्धानका लागि इटहरीस्थित सम्पर्क कार्यालय लगेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत