डा. केसीका कारण लाखौं बिरामीको जीवन जोखिममा – जनस्वास्थ्यकर्मी महासंघ

४ साउन ०७५, काठमाडौं । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले स्वास्थ्य संस्थामा नेपाल चिकित्सक संघले घोषणा गरेको हड्तालप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बिहीबार एक विज्ञप्ति जारी गरी नागरिकको बाच्न पाउने अधिकारको हनन भएको भन्दै चिकित्सक संघले घोषणा गरेको हडतालप्रति विरोध जनाएको हो ।

चिकित्सा क्षेत्रमा घोषणा गरिएको हड्तालले लाखौं बिरामीको जीवन जोखिममा परेको भन्दै जोखिममा परेका बिरामीको जिम्मा चिकित्सक संघ र राज्यले लिनुपर्ने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष डम्बर रावलले जारी गरेको विज्ञप्तिमा डा. गोविन्द केसीको अनसनलाई लिएर स्वास्थ्य संस्थामा गरिएको हडताल नागरिकको बाच्न पाउन मौलिक हकविरुद्ध भएको भन्दै उक्त कार्यको घोर भत्सर्ना समेत गरिएको छ ।

‘युद्धमा समेत स्वास्थ्य सेवा पाउने अधिकारबाट नागरिकलाई बञ्चित नगर्ने अन्तर्राष्ट्रिय मान्यताविपरीत साउन ३ गतेबाट नेपाल चिकित्सक संघले घोषणा गरेको हड्ताल अमानवीय छ ।’ विज्ञप्तिमा उल्लेख छ, ‘भर्ना भएका बिरामी अस्पतालबाट लखेटिएको छ । अप्रेशनको लागि आएका बिरामीलाई भर्ना गरिएको छैन, भर्ना गरिएका बिरामीको अप्रेशन रद्द गरिएको छ, यो चिकित्सकीय मर्यादाविरुद्धको कार्य हो ।’

‘डा. गोविन्द केसीले उठाएका केही जायज मागहरुलाई राजनीतिकरण गरिएको छ । यो दुर्भाग्यपूर्ण छ, एउटा शक्तिले डा. केसीका मागबाट नाजायज फाइदा उठाउने प्रयास गरिरहेको छ, जो भत्सर्ना योग्य छ’ विज्ञप्तिमा भनिएको छ ।

रावलले तत्काल समस्याको समाधान गरी स्वास्थ्य क्षेत्रमा घोषणा गरिएको हड्ताल तत्काल फिर्ता गर्न विज्ञप्तिमा आग्रह गरेका छन् ।

  •  
    1.1K
    Shares
  • 1.1K
  •  
  •  
  •  

तपाइको मत