५ साउन ०७५, कैलाली । धनगढी उपमहानगरपालिकाले गरिब घर परिचयपत्र वितरण शुरु गरेको छ ।
शुक्रबार उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले वडा नम्बर १ शान्ति टोलकी गंगादेबी कोलीलाई रातो रङ्गको अति गरिब परिचय पत्र हस्तान्तरण गर्दै परिचय पत्र वितरण सुरु गरिएको हो ।
मेयर ओडले उपमहानगरपालिकाका १९ वटै वडामा परिचय पत्र वितरण सुरु गरिएको जानकारी दिए ।
सरकारले २०६९ सालमा सहकारी विकास मन्त्रालय अन्तर्गतको गरिब घर परिवार परिचय पत्र वितरण तथा व्यवस्थापन कार्यक्रममार्फत् गरिबहरुको सर्वेक्षण गरेको थियो ।
तत्कालिन जिल्ला विकास समिति कैलालीले गरिब घर परिवारको तथ्याङ्क सङ्कलन गरी मन्त्रालय पठाएको थियो ।
अहिले गरिब परिचय पत्र वितरणको जिम्मा धनगढी उप–महानगरपालिकालाई दिइएको छ ।
धनगढीमा ५ हजार ८ सय ८५ परिवारलाई गरिब परिचय पत्र वितरण गरिने धनगढी उप–महानगरपालीकाका प्रशासकीय अधिकृत सुरेन्द्र सिंह कार्कीले जानकारी दिए ।
जसमध्ये २ हजार ८ सय ५८ परिवार अति गरिब, १ हजार ८ सय ३७ परिवार मध्यम गरिब र १ हजार २ सय ९० परिवारले सामान्य गरिबको परिचय पत्र पाउने छन् ।
परिचयपत्रको आधारमा उनीहरुलाई राहत लगायतका सुविधा दिने सरकारी तयारी छ ।