सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न युवा–विद्यार्थी संगठनको माग

६ साउन ०७५, काठमाडौं । प्रमुख चार पार्टीका युवा – विद्यार्थी संगठनले निजी क्षेत्रबाट सञ्चालित सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गरी उनीहरुले संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा उल्लेख गरिएकाले सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका हुन् ।

युवा संघ, वाइसीएल, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ‘शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस् ।’

चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीले नेकपा नेतृत्वको लगाएका बेला नेकपाकै विद्यार्थीहरुले भने निजी मेडिकल कलेज राष्ट्रिकरण गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा सबै प्रदेशमा एक सुविधा सम्पन्न सरकारी शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्न, चिकित्सा शिक्षाको छात्रवृत्तिलाई न्युन आय, गरिव र लक्षित समुदायमा आधारित बनाई पारदर्शी ढंगबाट वितरण गर्न र आधारभूत तहका जनताको जीवनसँग खेलवाड गर्दै स्वास्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा बन्द हड्ताल गर्न पूर्ण रुपमा प्रतिबन्द लगाई सरकारी तलब भत्ता खाएर जनतालाई सेवा नदिने स्वास्थ्यकर्मीलाई कार्वाही गर्न माग गरेका छन् ।

उनीहरुले वार्तामार्फत डा. गोविन्द केसीको अनसन तत्काल अन्त्य गर्न र केसीको अनसनमा राजनीतिक घुसपैठ र अराजकता भएको भन्दै त्यसलाई पनि अन्त्य गर्न माग गरेका छन् ।

प्रेस विज्ञप्ति

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत