अनसनरत डा. केसी र सरकारबीच वार्ता सुरु

८ साउन ०७५, काठमाडौं । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच चौथो चरणको वार्ता पुनः सुरु भएको छ ।

डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने माग फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग सिंहदरबार वार्ता पुनः सुरु भएको हो ।

वार्ताका लागि नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेका थिए । उनले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । छलफलपछि डा. केसीको वार्ता टोलीसँग पनि छलफल गरेका थिए ।

नेम्वाङको पहलपछि सरकारी र डा. केसीको वार्ता टोलीबीच औपचारिक वार्ता शिक्षा मन्त्रालयमा सुरु भएको छ । वार्तामा डा. केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्ड सहभागी भएका छन भने सरकारकोतर्फबाट शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली सहभागी छन् ।

सरकारले यसअघि नै डा. केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत