सप्तरीका पत्रकार खतिवडा दुर्घटनामा परेर मृत्यु

राजविराज । सप्तरीको राजबिराज नगरपालिका १५ स्थित हनुमाननगर सडकखण्डमा बुधबार भएको दुर्घटनामा परेर एक अग्रज पत्रकारको मृत्यु भएको छ । दुर्घटनामा एक प्रहरी हवल्दारसहित ३ जना घाइते भएका छन् ।

विराटनगरबाट राजविराज आउँदै गरेको को १ ज २१४९ नम्बरको माइक्रोबस र विपरीत दिशामा जाँदै गरेको ना ५ ख ६१० नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना हुँदा ६५ वर्षीय रामप्रसाद खतिवडाको मृत्यु भएको हो ।

सप्तरीका एसपी मुकेशकुमार सिंहले दुर्घटनामा परेर राजविराज नगरपालिका वडा नम्बर ७ का खतिवडाको मृत्यु भएको जानकारी दिए ।

नेपाल पत्रकार महासंघ सप्तरीका साधारण सदस्य रहेका मृतक खतिवडा मातृभूमि साप्ताहिकमा आवद्ध, पञ्चायत कालदेखिनै पत्रकारिता गर्दै आएका अग्रज पत्रकार हुन् ।

दुर्घटनामा मोरङ्गको मोतिपुर– ६ का प्रहरी हवल्दार ३० वर्षीय श्रवण माझी, सप्तरीको राजविराज नगरपालिका १ का ४५ वर्षीय मित्यानन्द झा र सुनसरीको दुहवी १० का ५२ वर्षीय अर्जुन ठकुरी पनि घाइते भएका छन् । घाइते मध्ये प्रहरी हवल्दार माझीको अवस्था गम्भीर छ ।

घाइते सबैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत