कार्यक्षेत्रमा खटिँदा सैनिकको मृत्यु भए परिवारले ७ वर्षसम्म पूरा तलब पाउने

१४ साउन ०७५, काठमाडौं । सरकारले कार्यक्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकका परिवारलाई ७ वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरेको छ ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले कार्यक्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकका परिवारलाई ७ वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्थासहित सैनिक सेवा नियमावली, २०६९ लाई संशोधन गरिएको बताएका हुन् ।

सोमबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित वीरगति प्राप्त गरेका सैनिक परिवारको एक दिने कार्यशाला गोष्ठीमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले पीडित सैनिकका परिवारलाई राहत दिन सरकारले सैनिक सेवा नियमावली संशोधन गरेको बताए ।

गत असार २० गते बसेको मन्त्रिपरिषद् बैठकले संशोधन गरेको नियमावलीमा कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिक जवानको र सैनिक जंगी कार्वाही वा सेना परिचालन भएका बेला आकस्मिक दुर्घटनामा परी अशक्त भएका सैनिकलाई स्वतः एक तह बढुवा गर्ने व्यवस्था पनि गरिएको छ ।

त्यस्तै, सरकारले कर्तव्य पालनाको सिलसिलामा कुनै सैनिक बेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा उसको परिवारले निवृत्तिभरण र उपदान पाउने व्यवस्था र छोराछोरीलाई शैक्षिक भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत