प्रधानन्यायाधीश जोशीको सुनुवाई समितिको बैठक बुधबारका लागि सर्‍यो

१४ साउन ०७५, काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे निर्णय गर्न बसेको संसदीय सुनुवाई समितिको बैठक  सरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सत्ता पक्ष र विपक्षी सांसदहरुको राय बाझिएपछि बैठक बुधबारका लागि सारिएको हो ।

सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले जोशीबारे थप नयाँ केही निचोड ननिस्किएकाले सहमतिमै सर्वसम्मतिले निर्णय गर्नका लागि बैठक बुधबार दिउँसो ३ बजेका लागि सारिएको जानकारी दिए ।

बैठकमा नेकपाका सांसदहरुले जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न नसकिने अडान राखेका थिए भने प्रतिपक्षी कांग्रेसका सांसदहरुले अनुमोदन गर्नुपर्ने बताएपछि मत विभाजनको स्थितिमा जानु उपयुक्त नहुने भन्दै बैठक सार्न दुवै पक्ष सहमत भएका थिए ।

गत बिहीबारै जोशीको सुनुवाई सकिए पनि उनलाई अनुमोदन गर्ने कि नगर्नेबारे समितिले निर्णय सुनाउन सकेको थिएन ।

प्रमाणपत्र र फैसलाहरु विवादमा परेको र समितिमा न्यायलयलाई कसरी अघि बढाउने भन्ने स्पष्ट योजना समेत पेश गर्न नसकेको भन्दै नेकपाका सांसदहरु असन्तुष्ट जनाएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत