घरायसी विवाद र अंशका लागि सिंगो परिवारकै हत्या, आरोपी पक्राउ

१६ साउन ०७५, राजविराज । राजविराज नगरपालिका १५ मुसहर्नियामा आफन्तकै संलग्नतामा ४ वर्षीय अवोध बालिकासहित सिंगो परिवारकै हत्या भएको खुलासा भएको छ ।

३५ वर्षीय सुरज साह, उनकी ३० वर्षीय पत्नी बेचनीदेवी र ४ वर्षीय छोरी प्रतिभाको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान गर्दा हत्यामा परिवारकै सदस्यको संलग्नता रहेको खुलासा भएको हो ।

प्रहरीले हत्या घटनाका मुख्य योजनाकार सुरजका सहोदर भाई पंचदेव साहसहित उनको पत्नि प्रमिलादेवी तथा हत्या गरेर शव वेपत्ता बनाउन सघाएका सोही वडाका धर्मेन्द्र साह, जिवछ साह र सत्यनारायण साहलाई मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।

उनीहरुले बयानको क्रममा घरायसी विवाद र अंश जोगाउन सुरज, उनको पत्नि बेचनी र प्रतिभाको हत्या स्वीकारेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

२९ जेठमा हत्या गरि बेचनीको शव घरपछाडीको शौचालयको सेफ्टी ट्याङ्कि भित्र लु्काई राखेका थिए । शव गन्हाउन थालेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ३१ जेठमा बेचनीको शव सेफ्टी ट्याङ्कि भित्रबाट निकालेको थियो । सोही मितिमा वेपत्ता भएका उनको पति सुरज र छोरी प्रतिभाको खोजी कार्य प्रहरीले जारी राखेको थियो ।

पक्राउ परेकाहरुको बयानको आधारमा २९ जेठमै सुरज र उनको छोरी प्रतिभाको पनि हत्या गरिएको थियो । ती दुई जनाको शव भने घरदेखी करिब २ किलोमिटर टाढा कोशी पश्चिम नहरको खाँडो नदीमा फालिएको थियो ।

अभियुक्तहरुले दिएको बयानको आधारमा दुई दिनदेखि प्रहरीले खाँडो नदीमा शवको खोजी कार्य जारि राखेको छ । वर्षा र अत्याधिक पानी रहेका कारण शव खोजी कार्य प्रभावित बनेको प्रहरी उपरीक्षक सिंहले बताए ।

यद्यपी गोताखोर र अन्य साधन जुटाई खोजी कार्य मंगलबार पनि जारि रहेको उनले जानकारी दिए ।

२ असारमा बेचनीका पिता छिन्नमस्ता गाउँपालिका ६ रामकुमार साहले जिल्ला प्रहरी कार्यालयमा निजका परिवारजनले नै छोरी, ज्वाई तथा नातिनिको हत्या गरेको आरोप लगाउँदै किटानी जाहेरी दर्ता गराएका थिए । साहले दर्ता गरेको किटानी जाहेरीमा मृतक सुरजका भाई पंचदेव, उनकी पत्नी प्रमिलादेवी र छोरा सन्तोषमाथी हत्याको आरोप लगाएका थिए ।

सोही किटानी जाहेरीको आधारमा पक्राउ गरि अनुसन्धान थालेपछि निजहरुकै संलग्नतामा परिवारसहित सुरज साहको हत्या गरिएको रहस्य खुलेको प्रहरी उपरीक्षक सिंहले बताए ।

हत्या घटनामा संलग्न रहेको थप पाँच जना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको उनले बताए । पक्राउ परेकाहरु उपर कर्तव्य ज्यान मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान सुरु गरिएको एसपी सिंहले जानकारी दिए ।

  •  
    6
    Shares
  • 6
  •  
  •  
  •  

तपाइको मत