बिराटनगरमा सञ्चालित भारतीय ‘क्याम्प अफिस’ आजदेखि बन्द

१६ साउन ०७५, काठमाडौं । भारतले बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको ‘क्याम्प अफिस’ आजदेखि बन्द गरेको छ ।

भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर आज अर्थात अगस्ट १ देखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने जनाएको छ ।

भारतले सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा १० वर्षअघि ०६५ भदौ ४ गते सरकारको अनुमतिविना क्याम्प अफिस खडा गरेको थियो । सो समयमा कोशी पुल प्रयोग गर्न नसक्ने भएपछि सुनसरीमा अस्थायी क्याम्प खडा गरिएको थियो ।

कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द हुन सकेको थिएन । परराष्ट्र मन्त्रालयले यसअघि सो क्याम्प हटाउन भारतीय दूतावासलाई पत्राचार गर्दासमेत भारतले टेरेको थिएन ।

नेपाल सरकारको अनुमतिविनै खोलिएको यो क्याम्पबाट रिटायर्ड लाहुरेहरूको पेन्सन दिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो । अब ती सबै काम काठमाडौंबाटै हुने दूताबासले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा बिराटनगरको फिल्ड अफिस हटाउन भारतीय पक्षसँग कुराकानी गरेका थिए । यसैवीच भारतीय दूताबासले आजदेखि क्याम्प अफिस हटाउने सूचना जारी गरे पनि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने दुतावासको क्याम्प अफिसको सेवा बन्द गरिएको आधिकारिक जानकारी अहिलेसम्म नआएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत