युएईमा गैरकानुनी बसेका विदेशी नागरिकले तीन महिनासम्म आममाफी पाउने

१६ साउन ०७५, काठमाडौं । युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि अगस्ट १ बाट तीन महिनासम्मका लागि आममाफी दिएको छ ।

आममाफी लागू भएपछि अब बिना भिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिना जरिवाना र बिना सजाय आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैध रूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् ।

यो अवसरको फाइदा लिन युएईस्थित विभिन्न देशका कुटनैतिक नियोगहरुले सूचना जारी गरी आफ्ना नागरिकहरुलाई सुचित गरेका छन् ।

नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । दूताबासले युएईभित्र रहेका सबै गैरकानूनीरुपमा युएईमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

नेपाली दूताबास अबुधाबीले युएईले गैरकानूनी रुपमा रहेका नेपालसहितका विदेशी कामदारलाई अगस्ट १ देखि तीन महिनाको आममाफी दिनेबारे सम्बन्धित देशका दूतावासलाई औपचारिक जानकारी गराएपछि नेपाली दूतावासले पनि यो सुविधाको फाइदा लिन नेपालीहरुलाई आग्रह गरेको हो ।

आममाफीकोे प्रक्रियाअनुसार अवैधानिक तवरले युएई प्रवेश गरेकाहरुको हकमा उनीहरू युएई विना कुनै जरिवाना र विना जेलसजाय स्वदेश फर्कन सक्छन् । तर, उनीहरुलाई २ वर्ष युएई आउन प्रतिबन्ध लाग्नेछ । यद्यपि आजिवन प्रतिबन्ध कसैलाई लाग्ने छैन ।

यसभन्दा अघि ब्ल्याकलिस्टमा परेका तथा कुनै कानुनी मुद्दा भएको खण्डमा एम्नेस्टीको सुविधा पाइने छैन । तर कम्पनिबाट फरार भएको मुद्दा परेकाहरुको हकमा इम्मिग्रेसनले त्यस्ता फरार मुद्दाहरु हटाइ विना कुनै प्रतिबन्ध युएईबाट बाहिर जान दिने प्रावधान रहेको छ ।

आफ्नो स्थिति वैधानिक बनाएर काम गर्न चहानेहरुले युएईको मानव संशाधन तथा इमिरिटाइजेसन मन्त्रालयको भर्च्युल जब मार्केट वेबसाइटमा आफुलाइ रजिस्टर गर्न सक्नेछन र आफ्नो अवस्था बैधानिक गरिसकेकाहरुलाई उपयुक्त काम खोज्न ६ महिनासम्मको अस्थायी भिसा प्रदान गर्न सकिने प्रावधान समेत रहेको छ ।

घर फर्कन चाहने अवैधानिक कामदारहरुले नजिकको इम्मिग्रेसन कार्यालयमा आफ्नो राहदानी वा ट्राभल डकुमेन्ट, प्लेन टिकट र २२० दिरहम दस्तुर सहित “एक्सिट परमिट“ को लागि आवेदन दिन सक्नेछन । एक्जिट परमिट प्राप्त गरेको १० दिन भित्र युएई छोडिसकेको हुनु पर्नेछ ।

आफ्नो अवस्था वैधानिक बनाउन चहानेहरुले ५०० दिरहम दस्तुर सहित आवेदन दिनुपर्नेछ ।एम्नेस्टी आवेदन आफुसंग राहदानी नभएकाहरुले समेत दिन पाउनेछन । युएई भरी ९ वटा एम्नेस्टी केन्द्रहरु इम्मिग्रेसन कार्यालयहरुमा खोलिएका छन ।जुन बिहान ८ देखि बेलुका ८ बजेसम्म खुल्ला रहनेछन ।

आफै इम्मिग्रेसनमा उपस्थित हुन नसक्नेहरुको हकमा उनीहरुको मेडिकल रिपोर्ट वा सम्बन्धित दुतावासको पत्रका आधारमा एक्जिट परमिट दिन सकिने प्रावधान समेत रहेको छ ।

यदि उक्त समयमा कामदार अनुमति भिसा लगाउन नसकेमा अतिरिक्त शुल्क तिरी पुनः अस्थायी भिसामा बस्न पाइने छ । स्वदेश फर्किन चाहेमा युएईले नो इन्ट्री छाप बिनै स्वदेश फर्कने अवसर दिने, ४८ घण्टासम्मको ट्रान्जिट भिसामा शुल्क नलाग्ने बताइएको छ ।

राहदानी नभएका नेपालीको हकमा दूताबासमार्फत निवेदन दिएर राहदानी बनाउन सकिने दूताबासले जनाएको छ । दूताबासले परराष्ट्र मन्त्रालय वा राहदानी विभागको समन्वयमा यहीबाट ्र राहदानी उपल्बध गराउने प्रक्रिया शुरु गरेको कार्यवाहक राजदूत सागरप्रसाद फुँयालले बताए ।

आममाफीको सुविधा साउन १६ देखि कातिक १४ सम्म रहेका कारण यो तीन महिनाको अवधिलाई सदुपयोग गर्न नेपाली दूतावास अबुधाबीले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत