सिटिईभिटीद्वारा प्रवेश परीक्षा स्थगित, अखिल क्रान्तिकारीले माग्यो पदाधिकारीको राजीनामा !

२१ साउन ०७५, काठमाडौँ । सिटिईभिटीले आज हुने लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।

सोमबार बिज्ञप्ति जारी गरेर रातारात षड्यन्त्रपूर्ण रुपमा प्राविधिक एसएससी तर्फको पूर्ण शूल्कीय प्रवेश परीक्षा स्थगित गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटिईभिटी समन्वय समिति संयोजक हर्कबहादुर बिकले विज्ञप्ति जारी गरेर पारदर्शी र व्यवस्थितरुपमा प्रवेश परीक्षा सञ्चाल गर्न हैसियत नराखेको भन्दै सिटिईभिटीको उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईको राजीनामा मागेका छन् ।

विज्ञप्तिमा विद्यार्थी तथा शैक्षिक संस्थाहरुलाई अनिर्णयको बन्दी बनाएको भन्दै संगठनले कारवाही गर्ने समेत चेतावनी दिइएको छ ।

‘पारदर्शी र व्यवस्थितरुपमा प्रवेश परीक्षा सञ्चाल गर्ने हैसियत नराख्ने सिटिइभीटीका उपाध्यक्ष कुलबहादुर बस्नेत, सदस्य सचिव पुष्परमण वाग्ले र परीक्षा नियन्त्रक मणी भट्टराईलाई पदबाट राजीनामा गर्न जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘निहीत स्वार्थका लागि सिटिइभीटी र सम्पूर्ण विद्यार्थी तथा शैक्षिक संस्थालाई अनिर्णयको बन्दी बनाउने कार्य गर्ने जो सुकैव्यक्ति तथा पदाधिकारीहरु संगठनको कार्वाहीमा पर्ने समेत चेतावनी दिन चाहन्छौं ।’

त्यसैगरी संयोजक बिकले डिप्लोमा तहको वर्गीकृत छात्रवृत्तिअन्तर्गत धनगढी, जनकपुरलगायतका परीक्षा केन्द्रमा प्रश्नपत्र बाहिरिएको र त्यसको छानबिन निष्कर्ष नआउँदै प्रवेश परीक्षा स्थगित गरेर घृणित कार्य गरेको बताएका छन् । विद्यार्थीको भविष्यसँग खेलवाड भएको भन्दै संयोजक बिकले विज्ञप्तिमा भनेका छन्, “प्राविधिक क्षेत्रतर्फ गन्तव्य बनाएका हजारौं बिद्यार्थीहरुको भविष्यसँग सम्बन्धित प्रवेश परीक्षाजस्तो संवेदनशील बिषयमा खेलवाड गर्ने÷गराउने सिटिइभीटीको गैरजिम्मेवारपूर्ण रबैयाको कडा संघर्ष र प्रतिरोध गर्न आम बिद्यार्थी वर्गलगायत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं ।’

राज्यका शैक्षिक निकायहरुले बिद्यार्थीहरुको हितको पक्षमा न्यूनतम् समझदारी पनि कायम नगरी सिटिइभीटीको प्रवेश परीक्षा र एसईईको पुरक परीक्षाको तालमेल नमिल्दा समेत हजारौं बिद्यार्थी पीडित हुनु परेको भन्दै संयोजक बिकले निन्दा गरेका छन् ।

सिटिईभिटीले यसअघि आज दिउँसो २ बजे प्रवेश परीक्षा तोकेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत