मानवतस्करीलाई नेपालले गम्भिररुपमा लिएको छ – गृहमन्त्री बादल

२२ साउन ०७५ल काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मानवतस्करी, बेचविखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भिररुपमा लिएको बताएका छन् ।

इण्डोनेसियाको बालीमा सोमबारदेखि सुरुभएको ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थापाले यो विषयलाई आफूहरुले गम्भिररुपमा लिएको बताएका हुन् ।

ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीको जाने गरेको भन्दै मन्त्री थापाले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानवतस्करी र वेचविखन बाधकको रुपमा देखा परिरहेको टिप्पणी गरे ।

गृहमन्त्री थापाले मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायहरुबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

आज सम्पन्न हुने सातौं मन्त्रीस्तरीय सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी छन् ।

नेपालसहित चीन, भारत, अष्ट्रेलियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु आईओएम, युएनएचसीआर र युएनओडिसी सम्मेलनको सदस्यको रुपमा रहेका छन् ।

गृहमन्त्री थापा नेतृत्वको चार सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए भने साउन २३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत