काठमाडौं । नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ भदौ १ गतेदेखि लागू हुँदैछ । यस ऐनमा सम्बन्धविच्छेदसम्बन्धी नयाँ व्यवस्था गरिएको छ ।
ऐनमा पतिले चाह्यो भने पनि सम्बन्धविच्छेद हुने व्यवस्था गरिएको छ । यसअघि पत्नीले चाहे जुनसुकै समयमा सम्बन्धविच्छेद हुने कानुनी व्यवस्था रहेको थियो ।
पतिले चाहेको खण्डमा सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था मुलुकी देवानी (संहिता) ऐन २०७४ को धारा ९४ मा उल्लेख छ :
- कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामाबाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा त्यसभन्दा बढी समयदेखि अलग बसेको खण्डमा पतिले सम्बन्धविच्छेद गर्न पाउनेछन् ।
- त्यस्तै पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा पनि पतिले सम्बन्धविच्छेद गर्न सक्नेछन् ।
- त्यस्तै, पत्नीले पतिको अंगभंग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा पनि पतिले तुरुन्तै सम्बन्धविच्छेद गर्न पाउनेछन् ।
- पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहर भएमा पनि पतिले सम्बन्धविच्छेद गर्न पाउनेछन् ।
पत्नीले अर्कैसँग विवाह गरेमा पतिले रकम दिनु नपर्ने
नयाँ मुलुकी ऐनको धारा १०० मा सम्बन्धविच्छेद हुने पत्नीले पतिसँग वार्षिक वा मासिक रकम वा खर्च लिने गरेकी पत्नी अर्कैसँग विवाह गरेमा उक्त रकम दिनु नपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा पनि पतिले सम्बन्धविच्छेद गरेकी पत्नीलाई खर्च दिनुपर्दैन । मुलुकी ऐनको दफा १०१ मा भनिएको छ :
- अंशबण्डा गर्नु पर्दा कुनै सम्पत्ति नभइ पतिबाट अंश नपाएकी पत्नीले पतिबाट खान लाउन खर्च भराउन चाहेमा र पतिको आम्दानी भएमा अदालतले त्यस्ती पत्नीलाई सम्बन्ध विच्छेद भएको पतिले आम्दानीको आधारमा खान लगाउने खर्च भराइ दिन सक्नेछन् ।
तर यस्तो सुविधा लिएकी पत्नीले अर्को विवाह गरेमा पतिले उक्त रकम दिनुपर्दैन । त्यस्तै पतिको भन्दा पत्नीको आम्दानी बढी भएमा पनि पतिले खर्च दिनुपर्दैन ।
सम्पतिको हकवाला पूर्वपति र माइतीतिरका अाफन्त !
नयाँ मुलुकी ऐन २०७४ को धारा १०३ मा अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउने व्यवस्था गरेको छ ।
सम्बन्धविच्छेद गरेकी महिलाको मृत्यु भएमा निजको सम्पति निजका छोरा, छोरी भए त्यस्ता छोरा, छोरीले र छोरा, छोरी नभए पूर्वपतिबाट पाएको सम्पति त्यस्ता पतिले र अन्य सम्पति माइतीतिरका हकवालाले पाउनेछन् ।
- 7Shares
7