गृहमन्त्री बादल र जापानी राजदुतबीच शिष्टाचार भेट

६ भदौ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बुधबार गृह मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढी भईसकेको चर्चा गर्दै सुरक्षा निकाय लगायत अन्य क्षेत्रमा जापानले गर्दै आएको सहयोगप्रति राजदूत साईगो मार्फत जापान सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

गृहमन्त्री थापाले नेपालको पूर्वाधार, उर्जा, पर्यटन, कृषि लगायतको क्षेत्रमा जापानको सहयोग र लगानीका लागि समेत राजदुतसँग आग्रह गर्दै अहिले नेपालमा लगानी गर्ने उपयुक्त अवसर रहेकाले सुरक्षाको प्रत्याभूति दिलाईने प्रतिवद्धता गरे ।

गृहमन्त्री थापाले केही समयअघि जापानमा आएको बाढीका कारण त्यहाँ ठुलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
राजदुत साइगोले आफु गत जुन महिनामा मात्रै नेपालको राजदुतको रुपमा कार्यभार सम्हालेको गृहमन्त्री थापालाई जानकारी दिँदै आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध थप मजबुत बनाउन र जापानी लगानीकर्तालाई नेपालमा लगानी गराउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने बताए ।

जापानी राजदूत साइगोले नेपाललाई जापानले दिँदै आएको सहयोग निरन्तर रहने रहने, सो सहयोग थप गर्न आफुले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दै आफुलाई कृषि क्षेत्रमा अनुभव रहेकाले सो अनुभवको आधारमा नेपालको कृषि क्षेत्रको विकासका लागि समेत पहल गर्ने बताए ।

त्यस्तै, राजदूत साइगोले नेपालमा विभिन्न कामका लागि बसिरहेको तथा नेपाल भ्रमणमा आउने जापानीहरुको सुरक्षामा ध्यान दिन समेत गृहमन्त्री थापासँग आग्रह गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत