काठमाडौंमा सवारी साधनमा भदौ १३– १५ गतेसम्म जोरविजोर प्रणाली लागू हुने

१२ भदौ ०७५, काठमाडौं । काठमाडौंमा हुने विमस्टेक सम्मेलनका लागि काठमाडौमा तीन दिनसम्म सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने भएको छ ।

चौथो वहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (विमस्टेक) सम्मेलनलाई लक्षित गर्दै तीन दिनका लागि काठमाडौमा सञ्चालन हुने सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने भएको हो ।

महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसार सम्मेलन हुने १३, १४ र १५ गतेका लागि जोर बिजोर प्रणाली लागू हुनेछ । प्रभागले जोर विजोर प्रणाली सबै सार्वजनिक, निजीसवारी साधनमा लागू हुने व्यवस्था गरेको छ ।

प्रभागका अनुसार भदौ १३ गते र १५ विजोर दिनमा विजोर नम्बर (नम्बर प्लेटको अन्तिम अंक १,३,५,७ वा ९) भएका सवारीसाधन चल्नेछन । भदौ १४ गते जोर दिनमा जोर नम्बर ( नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६ वा ८) भएका सवारी साधन चल्न पाउनेछन् ।

बिमिस्टेक सम्मेलन भदौ १४ र १५ गते हुने भए पनि विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिको आगमनलाई सुरक्षित र सहज बनाउन भन्दै १३, १४ र १५ गते काठमाडौं उपत्यकाभर सवारी साधन सञ्चालनमा जोर विजोर प्रणाली लगाइएको हो ।

चौथो विमस्टेक सम्मेलनमा भाग लिन भारत, बंगलादेश, भुटान, श्रिलंका, म्यानमार र थाइल्याण्डका राष्ट्र प्रमूख र सरकार प्रमुख, विदेश मन्त्री, विदेश सचिवलगायतका अतिथि नेपाल आउँदैछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत