प्रधानमन्त्रीद्वारा संसदमा सम्बोधन: बिमस्टेकबारे जानकारी

१२ भदौ ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको चौथो शिखर सम्मेलनबारे संसदमा जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो बसेको संसद बैठकलाई बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को सम्मेलनबारे किन आयोजना गरियो र यसमा के के हुँदैछ भन्ने विषयमा सांसदलाई जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले ‘शान्त, समृद्धि र दिगोपनतर्फ उन्मुख बंगालको खाडी’ भन्ने नारा तय गरेको जानकारी दिँदै सम्मेलनले यस क्षेत्रका देशहरुबीच आर्थिक एकीकरण, कनेक्टीभिटी (रेल, यातायात, ऊर्जा र हवाई) र बुद्धिष्ट सर्किटको पहुँच विस्तार गर्ने लक्ष्य राखेको बताए ।

प्रधानमन्त्री ओलीले बिमस्टेकको हरेक २÷२ वर्षमा सम्मेलन हुनुपर्ने भएपनि यो हुन नसकेको जानकारी दिँदै भने–‘बिमस्टेक स्थापना २० वर्ष अघि भएको भएपनि बल्ल हामी चौथो सम्मेलन गर्दै छौं । नेपाल र अन्य देशका विभिन्न कारणले समयमै हुन सकेन ।’

प्रधानमन्त्रीले बिमस्टेकको १४ वटा प्राथमिकता रहेको भएपनि यसपटक ब्लु इकोनोमी र माउन्टेन इकोनोमी थपेर १६ वटा प्राथमिकताको क्षेत्र तोकिएको बताए ।

प्रधानमन्त्री ओलीले बिमस्टेक संगठनलाई औपचारिकता दिने भन्दा पनि यसलाई वास्तवमा क्षेत्रीय विकास र विस्तारका लागि उपयोगी बनाउन प्रयोग हुने बताउँदै नेपालले लिएको गरिबी निवारणको नेतृत्व उपयोगी हुने विश्वास लिएको बताए ।

प्रधानमन्त्री ओलीले व्यापार, कनेक्टिभीटी, वातावरणको विषय र सामूहिक अपराधको विरुद्ध अभियानका विषयमा छलफल हुने जानकारी दिँदै यही सम्मेलनबाट बिमस्टेकको बडापत्र पनि बनाइने जानकारी गराए ।

प्रधानमन्त्रीले सम्बोधनकै क्रममा आफ्नो सरकारले ६ महिनामा गरेका कामको प्रगति सुनाए भने उनले आफ्नो सरकारप्रति बढी नै नकारात्मक कुराहरु भएको भन्दै असन्तुष्ट समेत व्यक्त गरे ।

त्यस्तै, प्रधानमन्त्री ओलीले भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी अपराध संहिता पनि संशोधन गर्न तयार रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत