पार्टी र सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहेको प्रधानमन्त्रीको भनाई

३० भदौ ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।

शनिबार पार्टी कार्यालय धुम्बराहीमा तत्कालीन एकीकृत नेकपा माओवादी माओवादी नेता पोस्टबहादुर बोगटीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी र सरकारविरुद्ध चौतर्फी आक्रमण हुँदा पनि प्रतिवाद नगरेकोमा पार्टीका नेता–कार्यकर्ताप्रति आक्रोश पनि पोखे ।

‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन ?’, ओलीले भने, ‘त्यो हामीले हेर्नुपर्ने भएको छ ।’

नेकपाका दुई अध्यक्षबीच फाटो ल्याएर एकतामा भाँजो हाल्न खोजिएको भन्दै ओलीले भने, ‘पार्टी एकतालाई भत्काउन दुई नेताबीच अन्तरविरोध चर्काउने, भाँजो हाल्ने र घुसपैठ गर्ने काम भइरहेको छ’, उनले भने, ‘यो षडयन्त्रप्रति सबै सचेत हुनुपर्छ ।’

‘यसो हे¥यो प्रचण्डलाई हमला गरेको रहेछ ठिकै भएछ भन्छौं, अनि मलाई हमला गरेका बेला ओलीलाई हमला गरेको रहेछ ठीकै भएछ भन्छौं’, अध्यक्ष ओलीले जोड दिँदै भने, ‘यसले जनतामा निराशा पैदा गर्छ । प्रतिक्रियावादीहरू उत्साही हुन्छन् ।’

उक्त कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षाअनुसार काम गरे मात्रै कमरेड पोस्टबहादुर बोगटीप्रति श्रद्धाञ्जली हुने बताए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, शक्ति बस्नेत, बामदेव गौतम, विष्णु पौडेललगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत