बन्द उद्योग सञ्चालन गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री

३० भदौ ०७५, राजविराज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रलाई सञ्चालन गर्न सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

शनिबार प्रेस संगठन नेपाल सप्तरीले राजविराजमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री यादवले औद्योगिक क्षेत्र सञ्चालन गर्न सरकारले आवश्यक सहयोग गर्ने बताएका हुन् ।

उनले स्थानीयरुपमा उद्योग सञ्चालन गर्ने वातावरण तयार भए सरकारले तालिम, उपकरण, सडक, खानेपानी, बिजुली लगायतको सुबिधा व्यवस्था गर्ने बताए ।

बन्द उद्योगलाई व्यवस्थित गरी पुनः सञ्चालन गर्न आह्वान गर्दै मन्त्री यादवले समृद्घ नेपाल सुखी नेपाली भन्ने सरकारको मूल नारालाई अभियानकै रुपमा अगाडि बढाउन जोड दिए ।

मन्त्री यादवलाई गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रका सरोज यादवले कृष्ण खाद्य उद्योग, पदमा ज्योति प्लास्टिक उद्योग, महालक्ष्मी पेट इन्डस्ट्रीज, कोशी पोलिमर्स लगायत दर्जनौ उद्योगहरु बन्द हुने अवस्थामा पुगेको जानकारी गराएसँगैे मन्त्री यादवले ओद्योगिक क्षेत्रको अवस्थाबारे मन्त्रालयमा लेखेर पठाउन व्यवस्थापन पक्षलाई निर्देशन दिए ।

प्रदेश नंं. २ को औद्योगिक क्षेत्र जिर्ण अवस्थामा रहेको भन्दै मन्त्री यादवले पुनःसञ्चालन गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रेस संगठन सप्तरी, रुपनी गाउँपालिका र राजविराज नगरपालिकाले लगायतले छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरी मन्त्री यादवलाई सम्मान तथा स्वागत गरेका थिए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत