‘महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौँ’–गृहमन्त्री बादल

१ असोज ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलत्कारका घटना न्युनिकरणका लागि गृहमन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको बताएका छन् ।

सोमबार राष्ट्रिय मानवअधिकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मा सहितका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।

छलफलमा मन्त्री थापाले महिला हिंसा र बलत्कारका घटनालाई सरकारले गम्भिर रुपमा लिएको बताउँदै भने– ‘मदिरा, लागुपदार्थ र ईन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलत्कारको घटना बढेका छन् । तिनको प्रयोगमा मन्त्रालयले कडाई सुरु गरेको छ ।’

गृहमन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलत्कारको घटनाबाट आफू दुखित भएको भन्दै सो घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने पतिवद्धता व्यक्त गर्दै केन्द्रबाट उच्चस्तरीय छानविन समिति गठन गरी अनुसन्धानमा प्रहरीको समेत लापरवाही रहेको गुनासोका आधारमा ६ जना प्रहरीलाई निलम्बित गरिएको र थप अनुसन्धान टोली पनि परिचालन गरिएकोले केही दिनमै परिणाम आउने बताए ।

त्यस्तै, गृहमन्त्री थापाले आफूले गृहमन्त्रालय सम्हालेपछि विगतमा रहेको चन्दा आतंक, विष्फोट, गुण्डागर्दी, तस्करी नियन्त्रणमा आएको बताउँदैे यस्तो कार्यमा आयोगले समेत साथ दिनुपर्ने बताए ।

गृहमन्त्री थापाले जनताको जिउ धनको रक्षा, मानवअधिकारको संरक्षण गर्ने दायित्व गृहमन्त्रालय र मानअधिकार आयोगका दायित्व रहेकोले दुबै निकायले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

छलफलमा आयोगका अध्यक्ष शर्माले जनताको जिउ धनको सुरक्षामा गृह मन्त्रालय गम्भिर बन्नुपर्ने बताउँदै कञ्चनपुर घटनाको छानविनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत