अखिल क्रान्तिकारीले शिक्षा नीतिविरुद्ध आन्दोलन गर्ने

२ असोज ०७५, काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले दुई शिक्षा नीति खारेजीको लागि संघर्ष गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सम्मेलनले एउटा देशमा दुई शिक्षा नीतिकै कारण गरिवका छोराछोरीको पहुँचभन्दा शिक्षा बाहिर गएको ठहर गर्दै दोहोर शिक्षा नीतिका साथै नीजिकरण, माफियाकरण र दलालीकरणविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष आलोक रायमाझीले राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुको साथै शैक्षिक क्षेत्रमा आगामी संघर्षका कार्यक्रम तय गरेको जानकारी दिए ।

२२ औं राष्ट्रिय सम्मेलनले शिक्षा क्षेत्रमा रहेका विकृति, विसंगती, नीजिकरण, व्यपारीकरण,दलालीकरण, माफियाकरण, भ्रष्टीकरणविरुद्ध संघर्ष गर्ने निर्णय गरेको रायमाझीले बताए ।

त्यसैगरी शिक्षा क्षेत्रका दलाल तथा माफियाहरुको सूची तयार गरेर भण्डाफोर र कारवाही गर्ने, गैरकानुनी रुपमा संचालित विदेशी शिक्षण संस्थाहरुलाई खारेजको लागि दवावमूलक आन्दोलन गर्ने सम्मेलनले निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै रायमाझीले शिक्षा क्षेत्रका आमूल परिवर्तनको लागि बलिदानपूर्ण संघर्षमा जाने निर्णय गरेको बताए ।

वर्तमान सत्तारुढ दलकै नेताहरुको .नीजि शिक्षामा ८६ प्रतिशत लगानी भएका कारण सरकारले सार्वजनिक शिक्षालाई निरुत्साहित गरेको ठहर गर्दैे त्यसविरुद्ध पनि सडक संघर्षमा जाने सम्मेलनले निर्णय गरेको छ ।

सम्मेलनले रायमाझीको अध्यक्षतामा सातै प्रदेशमा १/१ उपाध्यक्ष रहने गरी १५१ सदस्य केन्द्रीय समिति चयन गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत