१३ कार्तिक ०७५, सर्लाही । सर्लाहीको रामनगर गाउँपलिका ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीचको झडपमा गोली चल्दा एकजनाकोे मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
मंगलबार विहान कार्यकर्ताबीचको झडपमा गोली प्रहारबाट रामनगर गाउँपालिका–४ बहुर्वाका ६० वर्षीय रामविलास महतोको घटनास्थलमा नै मृत्यु भएको हो ।
मृतक महतो रामनगर गाउँपालिका वडा नं. ४ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोका काका हुन् । उनको मुख र पेटमा गोली लागेको छ ।
घाइते हुनेमा प्रमोद सहनी, श्रीनारयण महतो, महदेव राय, भोजेन्द्र महतो, प्रेमनारायण महतो, विवेक महतो र मुकेशप्रसाद महतोलाई गोलीको छर्रा लागेकाले स्थानीयस्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए ।
प्रहरी उपरीक्षक पोखरेलले गाउँमा लामो समयदेखि विवाद रहेकाले सोमबार पनि विवाद भएका कारण पुस्तैनी राजनीति विवादको क्रममा गोली चलेको हुन सक्ने बताए ।
वडा अध्यक्षमा कांग्रेसबाट महतो निर्वाचित भएपछि तत्कालीन माओवादी समर्थकसँग पटक-पटक विवाद हुँदै आएको थियो । सोमबार वडा अध्यक्ष महतोलाई हातपात समेत भएको थियो ।