गृहमन्त्रालयका कामकारवाही थप प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

६ मंसिर ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गृह मन्त्रालय अन्तर्गत निकायका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

बिहीबार गृहमन्त्रालयमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिक समीक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका कामकारवाही सन्तोषजनक रहेपनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

गृहमन्त्री थापाले कार्यक्रममा भने– ‘तपाईहरुलाई दिईएको जिम्मेवारी ईमान्दारितापूर्वक, सक्रियतापूर्वक र सृजनशिल ढङ्गले निर्वाह गर्नुहोस् । कुनै समस्या आए मन्त्रालय तपाईहरुको साथमा छ । ’

गृहमन्त्रालयले ८२ बुँदे सुधार कार्ययोजना बनाएको र सोही अनुरुप काम अघि बढिरहेको गृहमन्त्री थापाले बताए । बैठकमा गृहमन्त्री थापाले समीक्षाबाट निस्किएको सवलता र कमजोरीका आधारमा आफ्ना कामकारवाहीलाई थप परिस्कृत गर्दै लैजान आग्रह गरे ।

कार्यक्रममा गृह सचिव पे्रमकुमार राईले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन गृहमन्त्रालयको महत्वपूर्ण भूमिका हुने भएकोले सोही अनुरुप काम गर्न मातहतका निकायहरुलाई निर्देशन दिए ।

गृह सचिव राईले मन्त्रालयको कामकारवाही सहि बाटोमा रहेपनि अझ प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा गृह अन्तर्गतका निकायहरुले हालसम्म गरेका कामकारवाहीको बुँदागत रुपमा विवरण प्रस्तुत गर्दै त्यसमाथि सामुहिक छलफल गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत