वाइडबडी खरिदमा करिब ४ अर्ब अनियमितता भएको निष्कर्ष

१६ पुस ०७५, काठमाडौं । वाइडबडी खरिद अनियमितताबारे छानबिन गर्न गठित संसदीय उपसमितिले करिब ४ अर्ब सेरोफेरोमा अनियमितता भएको निष्कर्ष निकालेको छ ।

उपसमितिले वाइडबडी खरिदका कागजात अध्ययनका साथै सरोकारवालासँगको छलफलपछि प्रतिवेदन तयार पारेको हो । खरिदका क्रममा अपनाइएको प्रक्रिया र जहाजको ‘स्पेसिफिकेसन’ बारे अध्ययन गरेको उपसमितिले शीर्षकअनुसार अनियमितताको हिसाब निकालेको हो

उपसमितिका संयोजक सांसद राजन केसीले वाइडबडी खरिदमा सार्वजनिक खरिद ऐनको पालना नभई मनोमानी निर्णय गरेर जहाज खरिद गरेका कारण राज्यलाई ठूलो नोक्सानी भएको ठहर गर्दै संलग्न पदाधिकारीलाई कारबाही सिफारिस गर्ने बताए ।

वाइडबडी खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न निगमका अधिकारीदेखि प्रक्रिया बेगर भुक्तानीमा सामेल कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, पर्यटन मन्त्रालय लगायत अधिकारीलाई समेत कारबाही सिफारिस गर्ने तयारी उपसमितिको छ ।

कुन अधिकारीलाई कस्तो ढंगको कारबाही सिफारिस गर्ने भन्ने निष्कर्षमा उपसमिति पुगिसकेको छैन । त्यसका लागि मंगलबार उपसमिति बैठक डाकिएको छ । बैठकबाट प्रतिवेदन अन्तिम टुंगो लागेपछि बुधबार लेखा समितिमा पेस गर्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत