चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

२२ माघ ०७५, काठमाडौं । नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् ।

पौडेलले माघ २३ गतेबाट लागू हुनेगरी माननीय सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटासमक्ष राजीनामा पेश गरेकी हुन् । पौडेल २०७४ मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् ।

उनले फेसबुकमा लेखेकी छिन्– ‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपारेस् भनी मैले यो निर्णय लिएकी हुँ ।’ उनले आफूले नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक ‘बक्स अफिस’ प्रणाली शुरूवात गरेको र विकास बोर्डकै पहिलो महिला अध्यक्ष हुन पाएको पनि उल्लेख गरेकी छन् ।

यसअघि गत आइतबार मन्त्रालयको एक आन्तरिक बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित भएपछि मन्त्री बास्कोटाले कारबाही गर्ने चेतावनी दिएका थिए । सोही कारणले कारबाहीमा पर्नुभन्दा अगाडि राजीनामा दिएको स्रोत बताउँछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत