आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप

१९ फागुन ०७५, काठमाडौं । विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रेका सरकारी विद्यालयका राहत शिक्षक र प्रहरीबीच झडप भएको छ ।

माइतीघरबाट सुरु भएको शिक्षकहरुको विरोध जुलुस नयाँ वानेश्वर पुगेर निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । झडपमा केही शिक्षक घाइते भएको आन्दोलनरत शिक्षकले बताएका छन् ।

विरोध जुलुसलाई प्रहरीले पछि हट्न प्रहरीले अनुरोध गरे पनि नमानेपछि सुरुमा पानीको फोहोरा हानेको थियो । पानीको फोहोराले पनि शिक्षकलाई हटाउन नसकेपछि प्रहरीले लाठी प्रहार गरिएको थियो ।

सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । अहिले तीनै शिक्षकले आफूहरुलाई स्वत दरवन्दीमा रुपान्तरण गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् ।

आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् । आइतबार मुलुकभरका राहत शिक्षकहरु काठमाडौं आएर आन्दोलनमा सहभागी थिए ।

मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा समेत गरेर ४० हजारको हाराहारीमा राहत शिक्षक कार्यरत छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत