१ चैत्र ०७५, राजविराज । जिल्ला अदालतले सामुहिक बलात्कार काण्डको अभियोगमा पक्राउ परेका तीन जना युवालाई १३ वर्ष कैद सजाय तोकेको छ ।
न्यायाधिश उमेश कोइरालाको एकल इजलासले राजविराज नगरपालिका ४ का २३ वर्षीय शम्भु साह, राजविराज– ८ का २८ वर्षीय नविन दत्त र राजविराज–९ का २० वर्षिय फुदिन खानलाई सो कैद सजाय तोकेको हो ।
बलात्कारको कसुरमा ८ र सामुहिक बलात्कारको कसुरमा थप ५ वर्ष गरी १३ वर्ष कैद सजाय फैसला गरिएको श्रेस्तेदार दिलकुमार वर्दैवाले जानकारी दिए ।
उनीहरुले १३ चैत्र ०७१ मा आफुहरुसँगै एसएलसी परीक्षा दिएर घरफर्कदै गरेकी राजविराजकै १६ वर्षीया चौधरी थरकी सहपाठीलाई जबरजस्ती राजविराज–८ स्थित भूपेन्द्र यादवको घरमा डेरा गरी बस्ने अमर कुमार यादवको कोठामा लगि सामुहिक बलात्कार गरेको प्रहरीको भनाई छ ।
पीडित पक्षको उजुरीको आधारमा सोही दिन बलात्कृत किशोरीको स्वास्थ्य परीक्षण र उपचार सुरु गराई प्रहरीले आरोपितहरुलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
बलात्कारका आरोपीलाई कडा कारवाहीको माग गर्दै आफन्त र विभिन्न संघ–संस्थाले त्यतिबेला दिनहुँ प्रदर्शन गर्दै आएका थिए । अदालतको फैसलाबाट परिवारजन तथा त्यतिबेला आन्दोलनरत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खुशी व्यक्त गरेका छन् ।
ढिलै भएपनि पीडितले न्याय र दोषीvले दण्ड पाएका छन् –परिवारजन र स्थानीयको भनाई छ ।