पत्रकार गिरी साधारण तारेखमा छुटे

५ बैशाख ०७६, काठमाडौं । पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा भएका छन् ।

बिहीबारको थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले पत्रकार गिरीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो ।

ठगीसम्बन्धी लेखिएको समाचारका विषयले आफ्नो चरित्रहत्या गरिएको भन्दै विपेन्द्रराज बतासले साइबर क्राइम अन्तर्गत उजुरी दिएका थिए । सोही उजुरीका आधारमा गिरी पोखराबाट पक्राउ परेका थिए ।

उनलाई साइबर क्राइमको उजुरीका आधारमा कास्की प्रहरीले थप अनुसन्धानका लागि काठमाडौं पठाएको थियो ।

पक्राउ परेपछि गिरीले समाचार लेख्दा साइबर क्राइम नहुने भन्दै आफ्नो फेसबुकमा लेखेका थिए, ‘पत्रकारिता साइबर क्राइम होइन । जालझेल, ठगी अपराध गर्नेहरूले पत्रकारितालाई अपराध देख्नु अनौठो भएन । अपराधीको आँखामा पत्रकारिता पनि अपराध लाग्नु किन अनौठो हुन्थ्यो र ? तर जालझेल, ठगी र अपराधको पर्दाफास गर्नु पत्रकारिता हो । त्यस्तो पत्रकारिता म सधैं गरिरहन्छु चाहे तिमी मेरा विरूद्ध जुनसुकै जालझेल गर वा पैसा र पहुँचको आडमा अनेक तिकडम गर वा अनेक शीर्षकका उजुरी गर । ठगीविरूद्ध मेरो कलम डगमगाउँदैन । मेरो पत्रकारिता बिचलित हुँदैन ।’

नेपाल पत्रकार महासंघका कास्की शाखा सदस्य रहेका गिरी सम्पादक रहेको ताण्डव न्यूज साप्ताहिक र अनलाइनमा केही दिन अघि विपेन्द्रराजले विभिन्न व्यक्तिसँग जग्गा कारोबार गर्ने क्रममा करोडौं रुपैयाँ ठगी गरेको समाचार प्रकाशन भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत