परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

४ असार ०७६, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

बुधबार गृहमन्त्रालयमा प्रदेश बाहिनी पतिका रुपमा सरुवा भएका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई निर्देशन दिँदै गृहमन्त्री थापाले पूर्ण जिम्मेवारीका साथ शान्ति सुरक्षामा कुनै कमी नहुने गरी काम गर्न आग्रह गरे ।

‘राष्ट्रसेवकको मूल्याङ्कन उसले दिने परिणामबाट मात्र हुन्छ, परिणाम निस्कने गरी काम गर्नुहोस्, सशस्त्र प्रहरीलाई राज्यले दिएको जिम्मेवारी अनुरुप शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापनका साथै सीमा क्षेत्रमा हुने तस्करी, राजस्व चुहावटमा विशेष ध्यान दिनुहोस्’–उनले भने ।

प्रदेशको विशिष्टता अनुसार नयाँ कार्ययोजनाका साथ अघि बढ्न आग्रह गर्दै गृहमन्त्री थापाले जनतासँगको सम्बन्ध सुमधुर राख्न समेत सुझाव दिए ।

गृहसचिव प्रेमकुमार राईले गृह प्रशासन सुधार कार्ययोजना, मन्त्रालयको नीति नियम, निर्देशन, सङ्गठनको कार्ययोजना अनुुरुप काम गर्नुपर्नेमा जोड दिए । उनले मनसुन सुरु हुन लागेकाले कार्यक्षेत्रमा जानासाथ आफ्नो प्रदेशको विपद् व्यवस्थापनका लागि आवश्यक योजना बनाउन आग्रह गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत