लागुऔषध दुरुपयोगसम्बन्धी सप्ताहव्यापी अभियान शुभारम्भ

५ असार ०७६, काठमाडौं । लागुऔषध दुरुपयोग एवं ओसारपसार सम्बन्धी सप्ताहव्यापी अभियान शुरु भएको छ ।

गृहमन्त्रालयको आयोजनामा ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ जीवन’ भन्ने नाराका साथ आजदेखि असार ११ गतेसम्म सप्ताहव्यापी अभियान शुभारम्भ गरिएको हो ।

कार्यक्रममा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुव्र्यसनीको संख्या वर्षेनी बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि साताव्यापी अभियान शुभारम्भ गरिएको बताए ।

‘पछिल्ला सर्वेक्षणले नेपालमा वर्षेनी ११.३६ प्रतिशतले लागुऔषध प्रयोगकर्ताको संख्या वृद्धि भएको देखाएको र कूल अपराधमा सात प्रतिशत लागुऔषधसँग सम्बन्धित भएकाले यसलाई नियन्त्रण गर्नु हामी सबैको दायित्व हो’, उनले भने–‘हाल नेपालका डेढ लाख युवा लागुऔषधको कुलतमा फसेकाले यसलाई नियन्त्रण गर्न अभियानले पनि सहयोग पु¥याउँछ ।

गृहमन्त्रालयका सहसचिव एवं अभियानका संयोजक नारायणप्रसाद दुवाडीले लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा विशेष अभियान सञ्चालन गर्न लागिएको बताए ।

अभियानका क्रममा लागुऔषध रोकथाम नीति एवं मागदर्शन तर्जुमा, वैकल्पिक विकास प्रयास, औषधि ऐन कार्यान्वयन र समाधानका उपाय, सञ्चार माध्यममा चेतनामूलक कार्यक्रम, गाँजा/अफिमखेती फँडानी, नियन्त्रणात्मक कार्यक्रम, प्रभातफेरी लगायत कार्यक्रम सञ्चालन गरिने गृहमन्त्रालयले जनाएको छ ।

हाल नेपालमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायतले लागुऔषध दुरुपयोग एवं ओसारपसार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत