राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ सम्पन्न

१७ असार ०७६, काठमाडौं । राजधानीमा दुई दिनसम्म चलेको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ सम्पन्न भएको छ ।

“श्रमको सम्मान : राष्ट्रिय अभियान’ मूल नारा” दिई असार १५ र १६ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा भएको सम्मेलन सोमबार सम्पन्न भएको हो ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सो सम्मेलनको छलफल र बहसमा नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, विभिन्न क्षेत्रका उद्यमी, व्यवसायी संघ–संस्थाका विशिष्ट व्यक्तित्वहरू, आइएलओ, डिएफआईडी साथै नेपालका ट्रेड युनियनकर्मीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

सम्मेलनका एक सहभागी अखिल नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव शालिक राम काफ्लेका अनुसार सम्मेलनको पहिलो दिनलाई तीन सत्रमा विभाजन गरी सञ्चालन गरिएको थियो भने ती सत्रमा ‘श्रम र रोजगार नीतिको समीक्षा, श्रमको भविष्य, सम्भावना र चुनौतीहरू’ बारेमा व्यापक छलफल र बहस भएको थियो ।

दोस्रो दिनलाई ६ सत्रमा विभाजन गरी छलफल गरिएको भन्दै अन्टुफ उपमहासचिव काफ्लेले नेपाली श्रम बजार र आयको प्रतिबिम्बन, श्रम संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमी, नेपालमा नै रोजगारीको सम्भावना, सूचनाा प्रविधि र रोजगार, बेतन वृद्धि र राष्ट्रिय अर्थतन्त्र बारेमा व्यापक छलफल भएको जानकारी दिए ।

श्रम तथा रोजगार सम्मेलनको छलफल र बहसका क्रममा सहभागी केही प्रतिनिधिहरूले असारे विकास जस्तै गरी असारे सम्मेलन राखिएकाले सम्मेलनको औचित्य माथि प्रश्न उठाएका थिए । भने, केही सहभागीले यस्तो महत्वपूर्ण सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधित्व नहुनु दुई मन्त्रालयबीच सुमधुर सम्बन्ध नरहेको हो कि भनी आशंका समेत व्यक्त गरेका थिए ।

यद्यपि, सम्मेलनको उद्देश्य दिगो रोजगारी सिर्जना गर्न नेपाली श्रम बजारमा रहेका रोजगारीका क्षेत्र, अवसर, माग र आपूर्तिको पहिचान गर्ने, आगामी दिनमा गरिनुपर्ने नीतिगत, संरचनागत एवम् प्रक्रियागत सुधारका लागि सुझावहरू प्राप्त गर्ने रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत