२१ असार ०७६, सप्तरी । चार सन्तानसहित सप्तकोशी नदीमा हामफालेकी एक महिला र उनका एक छोरालाई प्रहरी र स्थानियवासीले जिवित्तै उद्दार गरेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीको दक्षिण भागमा चार बच्चासहित शुक्रबार राति हाम फालेकी सिरहाको गोलबजार नगरपालिका ८ की ३५ वर्षिया रोशना खातुन र उनका चार वर्षीय छोरा तहसिललाई प्रहरी र स्थानियवासीले बेहोस अवस्थामा जिवितै उद्दार गरेका हुन् ।
शुक्रबार राति ८ बजेतिर सप्तकोशी नदीको दक्षिणतर्फ ती महिलाले चार सन्तानसहित हामफालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी टोलीले स्थानीयसँग मिलेर खोजिकार्य सुरु गरेपछि राति १० बजेतिर घटनास्थल भन्दा ५ सय मिटर टाढा ठाकुरकारमा चार वर्षीय छोरा तहसिललाई बेहोस अवस्थामा उद्दार गरेको थियो ।
रातभर खोजी कार्यमा व्यस्त रहेका प्रहरी र स्थानियवासीले आमा खातुनलाई भने शनिबार बिहान ६ बजेतिर घटनास्थलबाट करिव तीन किलोमिटर टाढाबाट बेहोस अवस्थामा उद्दार गरेको थियो ।
आमा छोरा दुबैको अहिले भारदहस्थित अस्पतालमा उपचार भइरहेको छ । खातुनका तीन सन्तान भने अहिलेसम्म वेपत्ता छन् । प्रहरीका अनुसार खातुनका ६ वर्षीय छोरी, दुई र तीन वर्षीय छोरा र अझै वेपत्ता रहेका छन् ।
सप्तकोशी नदीमा अहिले पानीको बहाब उच्च रहेकाले वेपत्ता बालबालिकाहरुलाई बगाएर लगेको हुन सक्ने अनुमान गरिएको छ ।
यद्यपी उनीहरुको खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी र गोताखोरको टोली परिचालन गरिएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्रले बताए । ‘राति ९ बजेदेखि नै हामी उपलब्ध साधन श्रोतको परिचालन गरि वेपत्ता रहेका खातुनका तीन सन्तानलाई खोज्ने कार्य जारी राखेका छौं ।’ डिएसपी मिश्रले भने– ‘तर, पानीको बहाव उच्च रहेकाले सफलता मिल्न सकेको छैन् ।’
डिएसपी मिश्रले जिवितै उद्दार गरिएकी खातुनले घाटीमा बोकेको पर्सबाट गोलबजारबाट कोशी ब्यारेजसम्मको बसको टिकट तथा एक थान मोबाइल फेला परेको जानकारी दिए ।