अस्पतालद्वारा सञ्चालनमा ल्याइएको सामाजिक सेवा कार्यक्रमबाट २ सय ३५ जना लाभान्वित

२४ असार ०७६, राजविराज । गजेन्द्र नारायण सिंह अस्पतालद्वारा सञ्चालनमा ल्याइएको सामाजिक सेवा इकाई कार्यक्रमबाट हालसम्म लक्षित समूहका २ सय ३५ जना बिरामी लाभान्वित भएका छन् ।

गरिब, असहाय, वेवारिसे, अशक्त, सहिद परिवार तथा ज्येष्ठ नागरिक लगायतका बिरामीहरुको स्वास्थ्य सेवामा न्युनतम पहुँच एवं उपभोग अभिबृद्धि गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको सामाजिक सेवा ईकाइ कार्यक्रम लागु भएको मितिदेखि हालसम्मको अवधिमा २ सय ३५ जना बिरामी लाभान्वित भएको अस्पताल प्रशासनले प्रतिवेदन सार्वजनिक गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा अतिगरिब, गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वंयमसेविका, प्राकृतिक प्रकोपमा परेका, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएको थुनवा, दुर्घटनामा परेका आकस्मिक बिरामी, वेवारिसे तथा लोपोन्मूख जातिका बिरामीलाई निःशुल्क तथा आंशिक छुटमा नियमित तथा विशेषज्ञको उपचार सेवा उपलब्ध गराउने उद्देश्यले गत १२ चैतदेखि सो अस्पतालले सामाजिक सेवा ईकाइ कार्यक्रम सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

चैत १२ गतेदेखिसेवा प्रदान गर्न सुरु गरिएको भएपनि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको कार्यव्यस्तताका कारण कार्यक्रमको उद्घाटन भने गत १८ असारमा गरिएको मेसु डा. दासको बताए । सेवा सूचारु भएको मितिदेखि मंगलबारसम्ममा लक्षित समूहका १ सय १६ महिला र १ सय १९ पुरुषगरी २ सय ३५ जना बिरामीले निशुल्क र आंशिक छुटमा उपचार सेवा प्राप्त गरेका छन् ।

त्यस्तै, ८ जना जेष्ठ नागरिक, २९ जना कुपोषित बालबालिका, १० जना थुनुवा, ६ जना असक्त, ५ जना लैङ्गिक हिंसामा परेका तथा १ सय २७ जना गरिब, अतिगरिब र असहाय उपचार सेवा पाई लाभान्वित भएको उनले जानकारी दिए ।

यसरी उपचार सेवा प्रदान गर्ने क्रममा औषधी र विभिन्न खाले जाँचमा अस्पतालले १ लाख ४१ हजार ९ सय ७२ रुपैया लगानी गरेको सामाजिक सेवा ईकाइका उपप्रमुख सूर्यकान्त झाले बताए ।

सेवा प्रभावकारी र निष्पक्ष बनाउन तथा लक्षित समूहको बिरामीको पहिचान गर्न अस्पताल प्रशासनले अस्पताल तथा बिभिन्न संघ संस्थाका प्रतिनिधि सम्मिलित एउटा छुट्टै समिति गठन गरी सेवालाई निरन्तरता दिएको छ ।

अस्पतालले सञ्चालनमा ल्याएको उक्त सेवाले गरिब, विपन्न समुदायका बिरामीलाई ठूलो राहत मिलेको नागरिक सञ्जालका अध्यक्ष सुखराम यादवको भनाई छ । उनले भने–‘आर्थिक अभावमा वर्षौदेखि उपचार सेवाबाट बञ्चित बिरामीलाई यस कार्यक्रमले राहत प्रदान गरेको छ, यसलाई भावी दिनमा पनि निरन्तरता दिइनुपर्छ ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत