रोपाईंको समयमा नहर थुनेर मर्मत गर्दा सप्तरीमा ९७ प्रतिशत जग्गा बाँझै

२६ असार ०७६ सप्तरी । सप्तरीमा सिचाइँ सुविधा भएपनि नहरमा पानी नछोडेका कारण सप्तरीमा धान रोपाइँ प्रभावित भएको छ । खेतीयोग्य जमिनको आधा भन्दा बढी भु–भाग नहरबाट सिंचाइ हुने गरेको छ ।

धान रोपाइँ महोत्सव त मनाइयो तर, जिल्लामा अहिलेसम्म ७० हजार हेक्टर क्षेत्रफल धान खेतीयोग्य जमिन ररहेको ठाउँमा दुई हजार एक सय हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवले जानकारी दिए ।

सिञ्चित ४० हजार र असिञ्चित ३० हजार गरी कुल ७० हजार हेक्टर क्षेत्रफल धान खेतीयोग्य जमिन रहेको ठाउँमा सिंचाइ तथा पानी अभावले जिल्लामा तीन प्रतिशतसम्म मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।

चन्द्र नहर, कोसी पम्प नहर, कोसी पश्चिमी नहर (वितरण नहर) गरी तीन वटा मुख्य नहरबाट खेती योग्य जग्गामा सिँचाइ हुने ठाउँमा चन्द्र नहर र वितरण नहरमा पानी पर्याप्त मात्रामा नदिदा धान रोपाइँ प्रभावित भएको हो ।

चन्द्र नहर र पम्प नहरको विभिन्न स्थानमा असारे विकास जस्तै मर्मत सम्भार भइरहेकोले पानी नदिएको हुन सकिने स्थानीय भरत यादवको कथन छ । नहर थुनेर हतारमा गुणस्तरहिन काम गरी बजेट सिध्याउन लागेको कार्यप्रति कसैको चासो नरहेको उनको भनाई छ ।

सो सम्बन्धमा सिंचाइ व्यवस्थापन कार्यालय राजविराजका प्रमुख लक्ष्मण प्रताप सिंहले किसानको माग नभएको कारण पानी नदिएको बताए । मर्मत सम्भारले कुनै अवरुद्ध नभएको भन्दै उनले किसानको माग भएमा तुरुन्त पानी दिने बताए ।

नहर छ पानी छैन, बेर्नामा धानको बिउ तयार छ, मलखाद्य छैन, महादेवा गाउँपालिका १ का कृषक जय नारायण यादवले भने, पानी भएको भए आधा धान रोपाइँ भइसक्थ्यो तर, के गर्ने हामीलाई सुन्ने कोही छैन । सिंचाइ नहुँदा ९७ प्रतिशत जग्गा बाँझै रहेको छ ।

नहर छेउकै खेत सुख्खा रहेको छ, नहरमा पानी कहिले आउने हो ठेगान छैन, डिमनका किसान देवनारायाण यादवले भने, समयमा मलखाद्य विउ विजनको समस्या त छ नै, नहरले पानी नदिएपछि झन समस्या भएको छ । नीजि बोडिङ्ग, अन्य नदीनालामा पम्पिङ्गसेट, सिडी लगाएर जेनतेन सिंचाइ गरी कामचलाउ हिसाबले धान रोपाइँ गरिरहेको उनले बताए ।

नहरबाट राजविराजदेखि पूर्व र दक्षिण क्षेत्रका जग्गामा सिचाइँ हुने गरेको छ भने पश्चिम र उत्तरी भेगमा आकाशे पानीको भरमा खेती हुने गरेको छ । जेठको मध्यमा धानको बिउ रोखेको एक महिना भन्दा बढी भइसकेको छ । असारको सुरुमा सामान्य वर्षामा केही रोपाइँ सुरु भएकोमा अहिले पानी अभावले प्रभावित छन ।

अकाशे पानीको भरमा खेती हुने हुहिरपुर, सीतापुर, प्रशवनी, तररहोता, मानराजा, खडकपुर, अर्नाहा, वोदेवरसाईन, सारस्वर, पातो, फुलकाही, कोदरकट्टि, मलहनीयाा, मलहनमा, हर्दिया कटैया, रामपुर जमुवा, मोहनपुर, टेगरी लगायत पश्चिम र उत्तर क्षेत्रका तीन दर्जनभन्दा बढी गाउँमा अहिले खेती योग्य जमिनमा धान रोपाइँ सुरु नभएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत