भारतीय दुतावासले पठाएको पत्रबारे परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्छ– मन्त्री खनाल

२६ असार ०७६, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादी परीक्षणका सम्बन्धमा भारतीय दुतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री खनालले पत्र परराष्ट्र मन्त्रालयमा आएको र त्यो दुई देशबीचको सम्बन्धको कुरा भएको बताए । उनले भने, ‘डब्लुटीओअनुसार पत्र आएको हो । यो सामान्य पत्र हो । तर, यसको जवाफ हामीले भन्दा पनि परराष्ट्रले दिनुपर्छ ।’

मन्त्री खनालले परराष्ट्र मन्त्रालयले सो पत्रबारे आफ्नो मन्त्रालयलाई जानकारी गराएको भने स्पष्ट पारे ।

भारतीय दुतावासले पठाएको सो पत्र आफूलाई बेलैमा जानकारी नगराएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत असन्तुष्टि व्यक्त गरेका छन् ।

विषादी परीक्षणको निर्णय फिर्ता भएपछि सर्बत्र आलोचना भएको थियो । यद्यपि, विषादी परीक्षण तत्काल नगर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चले अन्तरकालीन आदेश दिइसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत