७ साउन ०७६, काठमाडौं । गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
सत्यवती गाउँपालिका वडानम्बर ४ लिम्घा भीरकुनामा एकै घरका ८ जना र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो । मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ भने बाँकीको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एकजना बालक सन्दीप बिक मावली घरमा गएकाले जिवितै रहेको बताइएको छ ।
त्यसैगरी सत्यवति गाउँपालिका ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर एकै परिवारका ३२ वर्षीय आमा तिलकुमारी त्रामु, ९ वर्षीय छोरा दर्शन त्रामुको मृत्यु भएको हो । सोही वडामा रुद्र बिकको घर पनि पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीय मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् ।
पहिरोमा पुरिएर सत्यवति ४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ ।
उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझीसहितको टोली घटनास्थलमा पुगीसकेका छन् । थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए ।
पहिरोले लिम्घासमा ४ घर जोखिममा रहेकाले उनीहरुलाई स्थानिय विद्यालयमा राखिएको प्रहरीले जनाएको छ ।