कांग्रेस र राजपाको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

१३ साउन ०७६, काठमाडौं । प्रतिपक्षी दल कांग्रेस र राजपाको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो १ः१५ बजे सुरु भएको बैठकमा प्रमुख प्रतिपक्ष काँग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्ण बहादुर महराले नियमित कारवाही अगाडि बढाउनसाथ उनीहरुले रोष्टममा पुगेर नाराबाजी गरेका थिए ।

उनीहरुले गत असारमा प्रहरीको कारवाहीमा सर्लाहीमा मारिएका कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका थिए ।

सभामुख महराले संसदीय सर्वोच्चता कायम गर्नका लागि संसद् चलाउने वातावरण बनाउन र छलफल गर्न दिन आग्रह गरे । उनले सांसदहरुले उठाएको विषयमा सरकार र सदनको ध्यानाकर्षण भएको भन्दै संसद चल्न दिन र आ–आफ्नो आसनमा बस्न पटकपटक आग्रह गरे ।

झण्डै ४० मिनेटसम्म लगातारको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक साउन १५ गते दिउँसो ११ बजे बस्ने गरी स्थगित भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत