आरक्षण बचाउ आन्दोलनका सहभागी १४ जना पक्राउ

२६ साउन ०७६, काठमाडौं । सिंहदरबार घेराउ गर्न भन्दै काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका सहभागी १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै भद्रकालीमा भेला भएका आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, दलमर्धन कामी, कुमार लिंदेन लगायतका १४ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिएपछि प्रर्दशनकारीहरुले चर्का नाराबाजी गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामासमेत माग गरेका थिए ।

पक्राउ परेका रिहा गर्न भन्दै नारा जुलुस गर्ने थप पाँच जनालाई प्रहरीले प्रदर्शनी मार्गबाट पक्राउ गरेको छ । पक्राउ परेको १९ जनालाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा राखिएको छ ।

उनीहरुले सो विज्ञापन खारेज नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत