आज बकर इद, देशभरका मस्जिदमा भीड

२७ साउन ०७६, काठमाडौं । मुस्लिम धर्माबलम्बीले चाड बकर इद आज मनाउँदै छन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

बकर ईदका दिन बुर्का लगाएरै महिलाहरु मस्जिद पुगेर नमाज पढ्ने गर्छन् । बालबालिकादेखि बुढापाकासम्मले खुसी साटासाट गर्न अंगालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् । नमाज पढिसकेपछि घरमा गईे विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।

इस्लाम धर्माबलम्बीको महान् पर्व बकर इदका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताहरुले शुभकामना दिएका छन् ।
बकर इदका अवसरमा संघीय सरकारले ०७४ सम्म सार्वजनिक छुट्टी दिँदै आए पनि २ वर्षदेखि कटौती भएको छ । यद्यपि, प्रदेश २ र ५ ले प्रदेशस्तरीय निर्णय गरेर आज सार्वजनिक बिदा दिएका छन् ।

आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत