अपमानित बरियता स्वीकार्य नहुने नेपालको भनाई

१ भदौ ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधव नेपालले बरियता विवाद आफूलाई अपमानित गर्न ल्याइएको हो भने स्वीकार्य नहुने बताएका छन् ।

नेता नेपालले आफू निकट नेताहरुसँगको भेटमा बरिष्ठता टुंगो लगाउने हो भने कम्युनिष्ट आन्दोलनको इतिहास हेर्नुपर्ने बताएका हुन् ।

झापा आन्दोलन र कोअर्डिनेसन केन्द्रको न्युक्लियसबाट गठन भएको नेकपा मालेमा माधव नेपाल पोलिटव्यूरो सदस्य थिए भने झलनाथ केन्द्रीय सदस्य थिए ।

यस्तै २०४८ सालमा मदन भण्डारी महासचिव हुँदा नेपाल स्थायी कमिटी सदस्य भए भने खनाल केन्द्र्रीय सदस्यमात्र रहेको पछिमात्रै स्थायी कमिटीमा ल्याइएको नेपाल निकट नेताहरूको दाबी छ ।

१४ वर्षसम्म नेपाल महासचिव हुँदा खनाल चौथो बरियताका नेता थिए । ०६४ को पहिलो संविधान सभामा एमालेले नराम्रो हार व्यहोरेपछि नेपालले राजीनामा दिए । २०६५ मा भएको महाधिवेशनबाट खनाल अध्यक्ष भए भने नेपाल बरिष्ठ नेता बने । त्यतिबेला ओली तेस्रो बरियतामा थिए । साथै, २०७० सालको नवौं महाधिवेशनपछि ओली अध्यक्ष, त्यसपछिको बरिष्ठ नेता खनाल र तेस्रोमा नेपाल रहेका थिए ।

एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेसँगै बरियताक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि नेता नेपाललाई ल्याइयो ।

यतिबेला पार्टीको दोस्रो वरियतामा माधव नेपालको साटो आफूलाई ल्याउनुपर्ने झलनाथ खनालको प्रस्तावले सचिवालय बैठकमा प्रवेश नपाउँदै नेपालले काउन्टर प्रस्ताव अघि सारेका छन् ।

वरिष्ठ नेता नेपालले भने तत्कालीन एमालेको वरियताअनुसार जाने हो भने तत्कालीन उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल सचिवालयमा ल्याएर ईश्वर पोखरेल र विष्णु पौडेलभन्दा माथि राख्नु पर्ने प्रस्ताव गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत