झूटो विवरण पेश गरेर नागरिकता लिएको खुलेपछि वडाध्यक्षसहित ३ जना पक्राउ

३१ साउन ०७६, पोखरा । झूटो विवरण पेश गरेर नागरिकता लिएको खुलेपछि पोखरा-१८ का वडाध्यक्ष रणबहादुर थापासहित ३ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका २५ हेम्जास्थित तिब्बती शरणार्थी शिविरमा बस्ने सरु थापा मगर र तासी आङ्मो थापा मगरले झूटो विवरण पेश गरेर नागरिकता लिएको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले नागरिकताका लागि वडा कार्यालयबाट सिफारिस दिएकाले सोधपुछ गर्न वडाध्यक्षलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

झुटो विवरण पेश गरी नागरिकता दिलाएको विषयमा मुछिएका जिल्ला प्रशासन कार्यालय, नागरिकता फाँटका प्रशासकीय अधिकृत ऋषिराम आचार्य, पेस गर्ने नायब सुब्बा डाँशीराम लामिछाने, खरिदार परशुराम पौडेल र रामचन्द्र थापालाई प्रशासनले विभागीय कारबाहीका लागि सिफारिस गरेको छ ।

पोखरा–१८ बस्ने लेखबहादुर थापाले तिब्बती शरणार्थीसँग बिहे गरेकी आफ्नी छोरीको सन्तानलाई वंशज नागरिकता दिलाएको भन्दै राष्ट्रप्रेमी नेपाली नामक समूहले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएको थियो ।

सोही उजुरीका आधारमा छानबिन गर्दा लेखबहादुरले झूटो विवरण पेश गरी नातिनीलाई नागरिकता दिलाएको खुलेको थियो ।

अनुसन्धानपछि घटनामा संलग्न देखिएका लेखबहादुर थापा, नागरिकता लिने सरु थापामगर र तासी आङ्मो थापामगर र सर्जमिन बस्ने पोखरा १८ कै बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापा मगरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत