एकताबद्ध भएर अघि बढे जस्तोसुकै जटिलता पनि चिर्न सकिन्छ- प्रचण्ड

१९ भदौ ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताबद्ध भएर अघि बढे जस्तोसुकै जटिलता पनि चिर्न सकिने बताएका छन् ।

पार्टीको विदेश विभागले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतामा ढिलाई भएको कारण प्रतिगामी तत्वहरुले खेल्न खोजेको भन्दै आम कार्यकर्ता पंक्तिलाई एकताबद्ध भएर अघि बढन निर्देशन दिनुभएको हो ।

उनले भने –‘हामी एकचोटी एकताबद्ध भएर हिजोका सबै संघर्ष, बलिदान र सहीदका सपनालाई सम्झेर अभियानमा गयौं भने कस्ता कस्ता जटिल र अप्ठ्यारा परिस्थिति त चिर्यौ भने एकताबद्ध भएर जाँदा त्यो सामान्य नै हुन्छ । अगाडि बढन सम्भव छ ।’

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन निर्वाचनमार्फत यति लोकप्रिय भएको यो पहिलो परिघटना भएको बताउँदै भने –‘यो विशिष्ट छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको छ । यसलाई राम्रोसँग संश्लेषण गर्ने र यसका पक्षहरु अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्नुपर्ने आवश्यकता छ । यसले हाम्रो कम्युनिष्ट आन्दोलन र विश्वव्यापी श्रमजीवि आन्दोलनले उत्प्ररणा लिने वातावरण बन्छ ।’

अध्यक्ष प्रचण्डले माक्र्सवादलाई अक्षरशः पालना गर्नेभन्दा मार्गदर्शन बनाउनु पर्ने बताउँदै इतिहासको यो विशिष्ट अवसर सजिलै र सहजै प्राप्त नभएकोले अब अभियानात्मकरुपमा अघि बढनुपर्नेमा जोड दिए ।

निकै लामो संघर्ष, बहस, बलिदानका धेरै श्रृंखला पार गरेर यो ठाउँमा आइपुगेका बताउँदै उनले भने –‘आन्दोलन र संघर्षको बीचबाट खारिएर तयार भएको नेतृत्व तयार नभएको भए, सामाजिक न्याय र संघर्षमा नलागेको भए, बिभिन्न तानाशाही र सामन्तवादी निरंकुशतावविरुद्ध विजय हासिल नगरेको भए यो परिस्थिति आउने थिएन ।’

कम्युनिष्ट पार्टीको बहुमतलाई कुनै न कुनै रुपमा देख्न नचाहने शक्ति भित्र र बाहिर खुशी नभएको बताउँदै उनले उनीहरु सानोतिनो कमजोरी देखिएपनि तिललाई ताड बनाएर प्रचार गर्ने र बदनाम गर्ने प्रयास सुरु गरेको बताए ।

उनले भने –‘हामी कसैको दया मायाले यहाँ आइपुगेको होइन तर पार्टी एकता भएपछि जुन तदारुकताका साथ काम गर्नुपथ्र्यो, तीन महिनाबीच सकेर जनता माझ जान सकेको भए, सबै तहको सरकारलाई निर्देशित र खबरदारी गर्ने काम गर्न सकेनौं । यही साना तिना कमीलाई प्रतिक्रियावादीले अति रञ्जित ढंगले प्रचार गर्ने र टाउको उठाउने जमर्को उठाउने यदाकदा देख्छौं । यति लामो संघर्ष र बलिदानपछि प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस पनि केहीले गरेको देखेका छौं ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत