सरकारी कदमले सत्ताविरुद्ध फेरि पनि लड्न बाध्य – दलित संघर्ष समिति

दीपा चौधारी

२२ भदौ ०७६, काठमाडौं । संयुक्त राजनीतिक दलित संघर्ष समितिले आफ्नो समुदायलाई पछाडि पार्ने सरकारी कदमले सत्ताविरुद्ध फेरि पनि लड्न बाध्य भएको बताएको छ ।

आइतबार काठमाडौंमा सात राजनीतिक दल निकट रहेका दलितहरूले संयुक्त पत्रकार सम्मलेन गरी सत्ताविरुद्ध फेरि पनि लड्न बाध्य भएको बताएका हुन् ।

संघर्ष समितिका संयोजक राजकुमार हिङमाङले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले दलित लगायत उत्पीडित समुदायमाथि लात मार्ने काम गरेकाले दलितहरू आन्दोलनको संघारमा पुगेको बताए ।

यस्तै नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष अमर परियारले दलितलगायत महिला जनजाति, पिछडा वर्ग, मधेशी, मुस्लिम समुदायलाई सरकारले दमन र शोषण गरिरहेको भन्दै सरकारको कटाक्ष गरे ।

संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा राज्यको परम्परागत मूल चरित्रमा कुनै फेरबदल नभएको र सरकार काण्डैकाण्डमा फसेको उल्लेख छ ।

‘आज देश करवृद्धि, भ्रष्टाचार, महंगी, तस्करी, राष्ट्रघात, बलात्कार र हत्याकाण्ड, जहाजकाण्ड, चिनीकाण्ड, बुढीगण्डकी काण्ड, चन्द्रागिरी काण्ड, ईसाई धर्म प्रचार काण्ड, गुठी काण्ड र ललिता निवास काण्ड जस्ता काण्डै काण्डबाट आक्रान्त रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

संवैधानिकरुपमा प्राप्त उपलब्धिलाई यथाशीघ्र कानुन बनाई व्यवहारमा लागू गराउन, जातीय विभेद र छुवाछुत घटनाको छानबिन गरी दोषीलाई कार्वाही र पीडितलाई न्याय प्रदान गर्न संघर्ष केन्द्रित गरिने भन्दै उनीहरूले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवाल र भ्रष्टाचारविरोधी संघर्ष उठान गर्ने पनि बताएका छन् ।

उनीहरूले लोकसेवा आयोगको पछिल्लो विज्ञापनले संविधानप्रद्धत सीमित आरक्षण समेत कटौती गरेर राज्यले जनविरोधी चरित्र प्रदर्शन गरेको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत