विनोद रखाली मगर
२९ भदौ ०७६, तनहुँ । आर्थिक अभावका कारण निर्मला चेपाङको उपचारमा समस्या देखिएको छ ।
चार बर्षीया निर्मलाको शरीरमा दिदीबहिनी खेल्दाखेल्दै तातो पानी पोखिएपछि घाइते भएकी थिइन् । उनी चार दिनदेखि दमौली अस्पतालमा उपचाररत् छिन् । तर, आर्थिक अभावले गर्दा उनको उपचारमा समस्या देखिएको छ ।
अस्पतालले थप उपचारका लागि रिफर गरे पनि आर्थिक अभावले पोखरासम्म जान नसकेको बालिकाकी आमा धनमाया चेपाङ्ले बताइन् ।
चितवन घर भई हाल तनहुँको व्यास ११ मा मजदुरी गर्दै आइरहेका उनका बाबु गणेशमान चेपाङ् र आमा धनमाया चेपाङ्ले छोरीलाई बचाइदिन सबैसँग आग्रह गरेका छन् ।
‘इट्टा भट्टामा मजदुरी गर्ने श्रीमानको तलबले ६ जनाको परिवार पाल्न सकस भइरहेका बेला भएको यो घटनाले छोरीको थप उपचार गर्न सकेको छैन्’ बालिकाकी आमा धनमाया चेपाङ्ले भनिन् ।
अस्पतालबाट रिफर गरिएको बालिकालाई आर्थिक अभावका कारण परिवारले पोखरा लैजान नसक्ने बरु घरमै लैजाने कुरा गरेपछि अस्पतालले बिरामीलाई अहिले उपलब्ध औषधि चलाइरहेको छ भने बिरामी र कुरुवालाई खानाको व्यवस्था निःशुल्क मिलाएको छ ।
अस्पतालले बालिकाको थप उपचार गर्नुपर्ने देखिएको र उक्त सेवा दमौलीमा नरहेकाले निर्मलाको उपचार छाला रोग तथा र बाल रोग विशेषज्ञको निगरानीमा गर्नुपर्ने जनाएको छ ।
बालिकाकी आमा धनमाया चेपाङले छोरीको उपचारमा सहयोग गर्न चाहनेले आफ्नो मोबाइल नम्बर ९८२६१३११२४ मा सम्पर्क गर्न समेत आग्रह गरेकी छिन् ।