सामाजिक सुरक्षा कार्यान्वयन नगर्ने रोजगारदाताहरूले ठूलो मूल्य चुकाउनु पर्छ – सुशीला

६ असोज ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) केन्द्रीय सचिव सुशीला पुनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन नगर्ने रोजगारदाताहरूले ठूलो मूल्य चुकाउनु पर्ने बताएकी छन् ।

आइतबार महासंघ कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रदेश सांसद समेत रहेकी महासंघका सचिव सुशीला पुनले सामाजिक सुरक्षा कोषमा सूचीकृत नहुने औधोगिक प्रतिष्ठान र मजदुर सूचीकृत नगर्ने रोजगारदाहरूले ठूलो मूल्य चुकाउनु पर्ने निर्णय गरिएको बताएकी हुन् ।

‘श्रम ऐनको मजदुर विरोधी दफा १४५, १०९ लगायतलाई दुरुपयोग गरी रोजगारदाहरूले मजदुर निश्कासन गर्ने कार्यलाई तिब्रता दिएकाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन नगर्ने रोजगारदाताहरूले निकट भविष्यमा ठूलो मूल्य चुकाउनु पर्छ’ सचिव पुनले भनिन् ।

यसैगरी श्रम ऐनको दफा १४५ लगायत मजदुर विरोधी दफालाई संशोधन गर्न जेटीयुसीसी लगायत संस्थाबाट पहल गर्ने तर मतऐक्यता नभए अखिल नेपाल ट्रेड युनियन महासंघ मजदुरहरूका हक अधिकारका लागि सशक्त आन्दोलनमा जान बाध्य हुने सचिवालय सदस्य निरज गोलेले जानकारी दिए ।

सचिवालय सदस्य गोलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् महासंघका फ्र्याक्सन इन्चार्ज क.जयपुरी घर्तीले पार्टीको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन निर्देशन गर्दै एकताको तयारी र संगठनको अभियान सञ्चालन गर्न प्रशिक्षणात्मक मन्तव्य राखेको पनि बताए ।

अर्का सचिवालय सदस्य भरत दाहालले दशैं र तिहारको बिचमा महासंघले सात वटै प्रदेशमा सांगठनिक अभियान सञ्चालन गर्ने भन्दै भेला, प्रशिक्षण, कमिटी गठन, पुनर्गठन गरी संगठनलाई थप सुदृढीकरण गरिने बताए ।

यसैगरी अखिल नेपाल ट्रेड युनियन महासंघका तत्कालीन अध्यक्ष तथा मजदुर सहिद उपभोक्ता सहकारी संस्थामा वहाल रहेका गणेश प्रसाद रेग्मीले गरेको आर्थिक हिनामिना र युवा स्वरोजगार कोषबाट सहकारीका नाममा लिएको ५ करोड रुपैयाँको सत्य-तथ्य छानबिनका लागि महासंघका उपाध्यक्ष जय बहादुर कार्कीको नेतृत्वमा उपाध्यक्ष एसबी थापा मगर, उपमहासचिव शालिकराम काफ्ले, सचिव नरहरि नाथ योगी र केन्द्रीय सदस्य शीव पोख्रेल सदस्य रहेको पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी अर्का एक सचिवालय सदस्यले जानकारी दिए ।

महासंघका कार्यवाहक अध्यक्ष जगत सिम्खडाले बैठकमा प्रस्तुत गरेको एकता सम्बन्धी कार्यविधिमा अन्टुफ–जिफन्ट एकताको सम्पूर्ण कार्य आगामी मई दिवससम्म गरिसक्ने कार्यतालिका समेत रहेको र उक्त प्रस्तावलाई एक मतले पारित गरिएको सचिवालय सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज प्रकाशले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत