राष्ट्रपति र प्रधानमन्त्रीद्वारा बडादशैंको शुभकामना सन्देश व्यक्त

२१ असोज ०७६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई न्याय, समानतासहितको सामाजिक-आर्थिक समृद्धि, र भातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

मंगलबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बडादशैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै चाडपर्वको सम्बर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान एवं गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताएकी हुन् ।

राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘हाम्रो मुलुकमा परम्परागत रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका विभिन्न चाडपर्वहरूले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सुदृढ गर्नका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण राख्न महत्वपूर्ण योगदान गरिरहेका छन् ।’

राष्ट्रपति भण्डारीले सन्देशमा विजयादशमी पर्वले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गरेकी छन् ।

परम्पराका नाममा हुने नराम्रा चलनलाई तोड्नु पर्छ – प्रधानमन्त्री

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई शुभकामना सन्देश दिँदै परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने बताएका छन् ।

बडा दशैँ २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

वेव तस्विर ।

प्रधानमन्त्रीको सन्देशको पूर्णपाठ :

‘‘दिदीबहिनी तथा दाजुभाइहरु,
हामी नेपालीहरुको महान र परम्परागत चाड बडादशैँका उपलक्ष्यमा यहाँहरु सबैमा अर्थात् देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकताको चाड हो, पुनः मिलनको चाड हो, आफन्तहरुका बीचमा, छिमेकीहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने चाड हो । यो चाड आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने सानाहरुलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो । यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ । भव्यताका साथ मनाइहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने आवश्यकता छ ।

यो चाड मनाइरहँदा स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गरौँ । परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया, ममता र सद्भाव फैलियोस् ।

यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।

चाडहरु बढी खर्चालु नहून् । हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ । यसमा पनि ध्यान दिन जरुरी छ ।

आज हामी राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा छौँ । यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास पनि गर्नु छ । यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ । हामी ‘समृद्ध नेपाल, सुखी नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ । यस अभियानमा यो दशैँले हामी सबैमा प्रेरणा पनि दिन सकोस् । म यस बडादशैँका अवसरमा शुभकामना व्यक्त गर्दछु । धेरै धेरै शुभकामना ।’’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत