चिनियाँ राष्ट्रपतिलाई नेपाली समकक्षी विद्यादेवी भण्डारीद्वारा स्वागत : नेपाली सेनाद्वारा सलामी अर्पण

२५ असोज ०७६, काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङलाई नेपाली समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेकी छन् ।

राष्ट्रपति सीलाई विमानको ढोकै अगाडि पुगेर नेपाली समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेल, उपप्रधान एवम् स्थास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादब, सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटासहितका मन्त्रीहरु, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल विमानस्थल पुगेका थिए ।

राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाको टुकडीले विमानस्थलमै सलामी अर्पण गरेको थियो ।

राष्ट्रपतिको स्वागतका लागि सडकमा नेपाल सरकारका कर्मचारी, विभिन्न संघ संस्थाका पदाधिकारी तथा सर्वसाधारणको ठूलो उपस्थित रहेको थियो ।

राष्ट्रपति सी सवार विशेष विमान स्थानीय समयानुसार ठीक ४ः४५ बजे विमानस्थलमा अवतरण गरेको थियो ।

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी नेपाली समकक्षी विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणमा नेपाल आएका हुन् ।

तस्बिर : गोरखापत्र अनलाइन डटकम

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत