चिनियाँ राष्ट्रपतिको भ्रमणमा सुरक्षा व्यवस्था प्रभावकारी : गृहमन्त्रीले दिए सुरक्षाकर्मीहरुलाई धन्यवाद

२७ असोज ०७६, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चिनियाँ राष्ट्रपति सी जिनपिङको भमणको क्रममा शान्ति, सुरक्षाको व्यवस्था प्रभावकारी रुपमा कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन् ।

गृह मन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ । तस्बिर : किरण

आज गृह मन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै गृहमन्त्री थापाले सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका हुन् । उनले विश्वस्तरमै नेपालको सुरक्षा व्यवस्था राम्रो रहेको सन्देश प्रवाह भएको पनि बताएका छन् ।

गृहमन्त्री बादलले सरकारले दिएको जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढङ्गले गृहमन्त्री भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको बताए ।

चिनियाँ पक्षले समेत भ्रमणको क्रममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराए ।

गृहमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहार्याउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिए ।

उनले चिनियाँ राष्ट्रपति सीको भ्रमण ऐतिहासिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा साबित हुने बताए ।

यसैगरी गृहसचिव प्रेमकुमार राईले पनि सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई दिँदै यो अनुभवले आगामी दिनमा ठूलो सहयोग पुग्ने बताए ।

बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्की, नेपाली सेनाका उपरथी शशीचन्द्र बहादुर सिंह लगायत सहभागी रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत